केही वर्षमै अग्रणी लघुवित्त बन्ने लक्ष्य लिएका छौं ’

कास्कीकाे विजयपुरमा केन्द्रीय कार्यालय रहेकाे स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशको कास्की, तनँहु, लमजुङ्ग,गोरखा, पर्वत, म्याग्दी, वाग्लुङ्ग र नवलपुर तथा लुम्बिनी प्रदेशको परासी, गुल्मी र अर्घाखाँचीमा २० वटा शाखा विस्तार गरी लघुवित्त सेवा प्रदान गरिरहेकाे छ । लकडाउनको वाबजुद पनि गत आ.व. मा रु.२ करोड ८८ लाख खुद मुनाफा आर्जन गर्न सफल याे संस्थाले करिब १९ हजार घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म १ अर्ब १३ करोड कर्जा लगानी गरेको याे संस्था छिटै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग एक्विजीशनमा जाँदैछ । संस्थाकाे हालसम्मका गतिबिधि र भावी याेजनाबारे बिगत १५ बर्षदेखी लघुवित्तका क्षेत्रमा काम गरेका र हाल साढे तीन बर्षदेखी स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा रहेका सजल खड्कासँग गरेकाे कुराकानीको सम्पादित अंश :

यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीको असर विश्व अर्थतन्त्रमा प्रत्यक्ष परेको छ, तपाईको विचारमा कोभिड–१९ को असर नेपालका लघुवित्त क्षेत्रमा कस्तो परेको छ ?

मेरो विचारमा कोरोना महामारीको सबैभन्दा बढी नकारात्मक असर लघुवित्त क्षेत्रमा परेको छ । लघुवित्त कार्यक्रमको प्रकृति नै समूहमा काम काम गर्ने, ग्राहक सदस्यहरुको घर आगनमा पुग्ने तथा समुदायसँग प्रत्यक्ष रुपमा घुलमिल भएर काम गर्ने हो । जुन कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको देशब्यापी लकडाउनको कारणले सम्भव थिएन । लकडाउनको अवधिभर प्राय सबै लघुवित्त संस्थाहरु बन्द जस्तै थियो । व्यापार व्यवसाय ठप्प भयो । ग्राहकहरुले किस्ता तिर्न सकेनन । केही समयपछि लकडाउनको स्वरुप परिवर्तन भई अलि सहज हुँदा ग्राहकहरुलाई भेटघाट सम्म गर्न सक्ने अवस्था आयो ।

तर पनि खप्टेको किस्ताहरु तिर्न सक्षम भएनन भने केहीले नियमित किस्ता समेत तिर्न सकेनन । यो अवस्था हाल पनि जारी नै छ । खासगरी कर्जाको गुणस्तरमा कमी आउने, भाखा नाघ्ने दरमा वृद्धि हुने, कर्जा लगानीमा संकुचन आउने, ब्याज आम्दानी तथा अन्य संचालन आम्दानीमा कमी आउने, मुनाफा घटने, केन्द्र बैठकहरु संचालन हुन नसकी फिल्डको गुणस्तरमा कमी आउने आदि जस्ता प्रमुख असरहरु लघुवित्त क्षेत्रले भोग्नु परेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण हेर्ने हो भने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको नाफामा कमी आएको छ भने निस्क्रीय कर्जा बढेको देखिन्छ, तपाईले नेतृत्व गरेको यो लघुबित वित्तीय संस्थाको गत आ ब को वित्तीय अवस्था कस्तो छ ?

कोरोना भइरसको कारणबाट सृजित लकडाउने गर्दा लक्ष्य गरे अनुसार मुनाफा हासिल गर्न सकिएन । लकडाउन पश्चात नियमित रुपमा आउने ब्याज आम्दानी तथा अन्य आम्दानी रोकियो भने खर्चहरु यथावत नै रहयो । साथै नेपाल राष्ट्र बैंकले चैत्र मसान्तसम्म तिनुपर्ने पाकेको ब्याजमा १० प्रतिशत तथा वैशाख, जेष्ठ र असारमसान्तसम्म ३ प्रतिशत विन्दुले ब्याजदरमा छुट दिने नीतिले पनि आम्दानीमा प्रतिकुल असर पार्यो ।

हामीले लकडाउनको समयमा ग्राहकहरुसँग नियमित रुपमा टेलिफोन सम्पर्कमा रहने र राष्ट्र बैंकले दिएको छुटको लाभ उठाउन असारमसान्तसम्म कम्तिमा ब्याजमात्र भए पनि बुझाउन अनुरोध गर्यौ र धेरै हदसम्म सफल पनि भयौ । त्यसैले सन्तोषजनका रुपमा नाफा कमाउन पनि सफल भयौ । मैले नेतृत्व गरेको यो लघुवित्तको गात आ.व.को वित्तीय विवरण उत्कृष्ट नै छ जस्तो लाग्छ । गत आ.व. मा रु.२ करोड ८८ लाख खुद मुनाफा गरेका छौ। जस अनुसार प्रति शेयर आम्दानी रु.३०.७४ रहेको छ । प्रति शेयर नेटवर्थ रु.१३९.२३ रहेको छ । निष्क्रिय कर्जा गत त्रैमासमा भन्दा केही वृद्धि भई १.७६ प्रतिशत पुगेको छ ।

अहिले जुन समस्या वित्तीय क्षेत्रले भोगिरहेका छन्, यो समस्या अझै कति लामो समय भोग्नु पर्ला ?


हाल वित्तीय क्षेत्रमा कर्जाको मागमा कमी आई अधिक तरलताको स्थिति देखा परेको छ । केही निश्चित क्षेत्रहरु बाहेक सबै क्षेत्रमा लकडाउन हटाइएको भएतापनि कोरोनाको सक्रमण बढ्दो भएकोले व्यापार व्यावसाय राम्ररी चलेका छ्रैनन । तर पनि बजारमा केही चहलपहल भने बढेको जस्तो देखिन्छ । चाडपर्वको सिजन शुरु भएकोले व्यापार व्यावसायमा पनि केही सुधार भएको पाउन सकिन्छ । यद्यपि सोचे जस्तो गरी पहिलेकै अवस्थामा व्यापार ब्यावसाय तथा बैंकिङ्ग गतिविधिहरु चल्न केही समय लाग्ने देखिन्छ । भर्खरै मात्र फ्रान्स र बेलायतमा दोस्रो चरणको देशव्यापी लकडाउन घोषण गरिएको छ । यसरी हेर्दा कोरोनाको महामारी अन्त्य हुन अझै कम्तिमा पनि १ वर्ष लाग्न सक्ने देखिन्छ । मलाई लाग्छ यो आर्थिक वर्षभरी बैंकिङ्ग तथा वित्तीय क्षेत्रले यस्तो किसिकमो समस्य भोग्नु पर्ला ।

लघुवित्त क्षेत्रका लागि सरकार तथा नेपाल राष्ट्र बैंकले तत्कालै गर्नु पर्ने केहि छ ?

नेपाल राष्ट्र बैंक लघुवित्त क्षेत्रको नियामक निकाय मात्र नभई अभिभावक पनि हो । नेपालको लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्ने, अनुगमन गर्ने, नियमन गर्ने, सुपरिवेक्षण गर्ने, प्रवद्र्धन गर्ने क्रममा नेपाल राष्ट्र बैंकले समय सापेक्ष विभिन्न नीति तथा निर्देशनहरु जारी गर्दै आएको छ । हालको परिस्थितिलाई मध्येनजर गर्दा लकडाउन अवधिदेखि यस आ.व.को पहिलो त्रैमाससम्म खप्टिएको किस्तालाई ग्राहकहरुको अवस्था अनुसार कर्जाको भाखा अवधि पश्चात कम्तिमा ६ महिनादेखि बढीमा १ वर्षसम्म थप गर्न पाउने व्यवस्था गरिदिएमा लघुवित्त संस्थाहरुलाई धेरै राहत हुने थियो । अन्य पनि धेरै कुराहरु छन, जुन हाम्रो संघले नेपाल राष्ट्र बैंक समक्ष राखिसकेको छ ।

स्पर्श लघुवित्तको कार्यक्षेत्र र वित्तीय अवस्थाबारे संक्षेपमा बताउनुहोस न ?

स्पर्स लघुवित्तले १० जिल्लामा कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की, तनँहु, लमजुङ्ग,गोरखा, पर्वत, म्याग्दी, वाग्लुङ्ग र नवलपुर तथा लुम्बिनी प्रदेशको परासी, गुल्मी र अर्घाखाँचीमा यसले २० वटा शाखा विस्तार गरी लघुवित्त कार्यक्रम गरेको छ ।समग्रमा हाम्राे संस्थाको वित्तीय अवस्था राम्रो छ । मैले अघि नै पनि भनिसके लकडाउनको वाबजुद पनि सन्तेाषजनक मुनाफा हासिल गरी गत आ.व. मा रु.२ करोड ८८ लाख खुद मुनाफा गरेका छौ । जसअनुसार प्रति शेयर आम्दानी रु.३०.७४ रहेको छ भने प्रति शेयर नेटवर्थ रु.१३९.२३ रहेको छ । निष्क्रिय कर्जा गत त्रैमासमा भन्दा केही वृद्धि भई १.७६ प्रतिशत पुगेको छ ।

स्पर्श लघुवित्तको ग्राहक संख्या,शाखा संजाल,कति छन र हालसम्म कति कर्जा लगानी गरेको छ ?

यो लघुवित्तले हालसम्म १० जिल्लामा २० वटा शाखा मार्फत करिब १९ हजार घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म लगानीमा रहेको कर्जा १ अर्ब १३ करोड रहेको छ ।

लघुवित्तको समुहमा लगानी हुनेहुदाँ कर्जा डुब्ने सम्भावना कतिको रहन्छ ?

लघुवित्तको शुरुवात नै धितो नहुने, ठुलो बैंकमा पहँुच नहुने, विपन्न, सिमान्तकृत व्यक्तिहरुको लागि भएको हो । पछिल्लो अभ्यास हेर्दा पनि देख्न सकिन्छ कि लघुवित्तमा विना धितो लगानी गरेको कर्जाहरुको असूली प्राय शतप्रतिशत नै हुने गरेको छ । हाल आएर कर्जाको आकार ठुलो हुने, समूह जमानीमा कमी आउनु, कर्जाको दुरुपयोग गर्नेहरुमा वृद्धि हुनु, लघुवित्तको कर्जा तिर्न पर्दैन भन्ने प्रवृति विकास हुनु, कर्मचारी दिगो नहुनु, कर्जाको अधिक भार, दोहोरोपना आदि जस्ता कुराहरुले लघुवित्तको कर्जाको गुणस्तर खस्किदै गैरहेको देख्न सकिन्छ । तर नेपाल राष्ट्र बैंकले सारेको मर्जर तथा एक्विीजीशन नीतिले छिट्टै नै लघुवित्तहरुको संख्यामा कमि आई सबै समस्याहरुमा सुधार आउने आशा गर्न सकिन्छ ।

यो लघुबितको कर्जा सहयोगले कति प्रतिशत ग्राहकको जिवनस्तर उठेको देखिन्छ ?

ठयाक्कै यति नै भन्न त सकिदैन किनभने हामीले सर्वेक्षण गरेका छैनौ । तर विगतको अनुभवलाई हेर्दा के सम्म भन्न सकिन्छ भने हामीसँग भएका १९ हजार सदस्यमा करिव ११ हजारले कर्जा लिएर काम गरेका छन । त्यसमा शतप्रतिशत कर्जा सदुपयोग गर्ने ग्राहक करिब ७० प्रतिशत भयो भने ७ हजार ७ सय घरधुरीको जिवनस्तर उठेको मान्न सकिन्छ ।

कोभिडका कारण लघुवित्तका ग्राहक पनि समस्यामा होलान ग्राहकको सहुलियतका लागि कुनै त्यस्तो योजना ल्याउनु भएको छ कि ?

कोभिड शुरु हुने समयमा हामीले प्रत्येक सदस्यलाई स्वास्ठ सामाग्रीहरू वितरण गर्यौ । त्यस्तै गरी ग्राहकहरुको सजिलोको लागि हामिले मोबाइलमा म्यासेज पठाउने व्यवस्था गर्यौ । साथै, कोरोना रोकथाम तथा यस सँग सम्बन्धित जानकारी मुलक सन्देशहरु टेलिफोन मार्फत तथा हाल लकडाउन खुलेपश्चात केन्द्रमा प्रत्यक्ष रुपमा गराउने गरेका छौ। हामीले लकडाउनमा डुबेका व्यापार व्यवसायलाई केहीहदसम्म उठाउन आपतकालिन कर्जाको व्यवस्था गर्यौ ।

मर्जरको विषयलाई मौद्रिक नीतिले राम्रै स्थान दिएको छ, तपाईहरु पनि कुनै संस्थासँग मर्जरमा जाने योजना बनाउनु भएको छ कि ?

पक्कै पनि नेपाल राष्ट्र बैंकको नीति अनुसार नै हामी जाने छौ । हामीले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थासँग एक्विजीशनमा जाने निर्णय गरि सम्झौतामा हस्ताक्षर गरिसकेका छौ ।

नेपाल राष्ट्र बैंकले अहिलेको मौद्रिक नीतिमा लघुवित्तलाइ ब्याजदरको सिमा तोकेको छ यसले तपाईहरुलाई काम गर्न असहज हुदैन ?

हालको दिनमा बजारमा अत्यधिक तरलताको अवस्था भएको हुँदा हामिले पाउने वा लिइरहेको कर्जाको ब्याजदर ५ देखि ७ प्रतिशतसम्म रहेको छ । तर, यो स्थिति सधैभरी रहन सक्दैन । कोरोना महामारीको अन्त्य वा स्थिति सहज बन्दै गएमा कर्जाको माग बढ्न सक्छ । कर्जाको माग बढ्दा सबै क्षेत्रमा एकैपटक बढ्छ । अनि फेरि हामिले लिने कर्जाको ब्याजदर क्रमश बढ्न थाल्छ । यस्तो स्थितिमा हालको ब्याजदरको सिमाले लघुवित्तहरु धान्न सकिदैन ।

केही महिना अगाडी सम्म औषत कर्जाको लागत १२-१३ प्रतिशत रहेको थियो । फेरि त्यही अवस्था आउने हो भने स्प्रेड दर जम्मा ३ प्रतिशत हाराहारीमा खुम्चिन्छ । जबकी लघुवित्त संस्थाहरुको संचालन लागत नै ४ प्रतिशत भन्दा बढी छ । वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले हामीलाई प्रवाह गर्ने विपन्न वर्ग कर्जामा लिने ब्याजदरमा पनि नेपाल राष्ट्र बैंकले सिमा तोकि कम्तिमा पनि ७ प्रतिशत स्पे्रड कायम गर्नुपर्ने व्यवस्था लागु गरेमा लघुवित्तका ग्राहकहरु अझ लाभान्वित हुने थिए । यस वर्षदेखि नेपाल राष्ट्र बैंकले हामिले लिने ब्याजदरमा क्याप लगाई १५ प्रतिशतमा झारेकोमा हामीलाई एकदमै खुशी लागेको छ ।

लघुवित्त कर्मीहरुलाई संस्थागत साहुमाहजन, सामन्ती, मुनाफाखोर आदिको रुपमा हेरिने गरिएको थियो जसले गर्दा हाम्रा कर्मचारी फिल्डमा गई शिर ठाडो पारेर काम गर्न सम्म गार्हो भएको थियो । राष्ट्र बैंकले हामीले पाउने कर्जाको ब्याज अझ सस्तो गरि औषतमा ३-४ प्रतिशतमा दिने व्यवस्था गरिदिने हो भने हामी १०-१२ प्रतिशतमा नै कर्जा दिन सक्छौ र त्यसको लागि तयार पनि छौ ।

संस्थाको अबको रणनीति तथा योजनाहरु केके छन् ?

हामी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग एक्विीजीशनमा जादैछौं । हाम्रा आगामी रणनीति तथा योजनाहरु ग्लोबल आइएमई लघुवित्तले तय गरे बमोजिम नै हुनेछन । खास गरी पछिल्लो मौद्रिक नीति तथा नेपाल राष्ट्र बैंकको नीति अनुसार व्यवसाय विस्तारलाई ध्यान दिदा मर्जर तथा एक्विजिशनलाई नै पहिलो प्राथमिकता दिइनेछ । अबको केही वर्षमा नेपालको अग्रणी लघुवित्त बन्ने उद्देश्यले अगाडी बढ्ने रणनीति लिएका छौ ।

Source : Safal aawaj

Leave a Reply

Your email address will not be published. Required fields are marked *