मनाङ : आधा दर्जन बढी घरमा बाढी पसेको छ । यस्तै, नासों गाउँपालिका २, धारापानीमा १ घर बगेको छ । डुवानमा पर्दा जिल्लाको प्रवेश नाका ताल बजार पुरै विस्थापित भएको छ ।
मनाङमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेका अनुसार चामेमा जिल्ला हुलाक कार्यालय, ३ निजी घर बगाएको छ भने चामेबजारको मुख्य पुल समेत बगाएको छ ।

६० घरधुरी रहेको तालगाउँमा अधिकांश घर डुवानमा परेको र गाउँ नै जोखिममा परेपछि स्थानीयलाई अन्यत्र सारिएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘गृह मन्त्रालयलाई जानकारी गराएर केही पाल र ड्राई फुड प्रबन्ध गर्न भनिएकोमा मौसम खराबीले हेलिकोप्टर आउने सकेको छैन ।’

मनाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार सदरमुकाम आउने तिमाङ खोलाको मोटरेबल पुल समेत बगाएको छ । उनले भने, ‘केही दिन अघिमात्रै तिमाङ खोला र स्यार्कु खोलामा निर्माण गरिएको काठको अस्थायी मोटरेबल पुल पनि बगाएको छ ।’ चामेको लघु जलविद्युत्को टनेल पाइप बगाएको छ

गोरखा : तीन दिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका-३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ। गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन्। 

२७ घर रहेको सल्लेरीको चार घर बगाइसकेको छ भने अरु घर पनि जोखिममा रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए।‘राती आठबजेतिर घर बगाउन थालेपछि गाउँका सबैको भागाभाग भयो’, उनले भने, ‘सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाइसकेको छ’, उनले भने, ‘अरु घर पनि जोखिममा रहेकाले मान्छेहरु त्यहाँबाट भागेर रातभर पाखापखेरामा बसेर बिताए।’ 

काठमाडौं : मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्‍याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन्।