प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिन थालेका छन्। उनले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन लागेका हुन्।

ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण  ‍सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन्। यस अगाडि उनले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको दाबी गरेका थिए। भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने विषयमा सरकारले कुनै पनि कसर नराखेको उनले बताएका थिए।

‘यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन’, प्रधानमन्त्री ओलीले भने ,‘सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन।’

 उनले अगाडि थपे, ‘हामीले लिएका अडान आफैं बोल्छन्। हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन्। ’

उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने प्रष्ट पारे। उनले संविधान संशोधन कहाँ-कहाँ गर्न सकिन्छ भन्ने सुझावका लागि कार्यदल बनाउन सकिने धारणा राखे। ओलीले सरकारले हिंसाको राजनीति अन्त्य गरेकोसमेत बताए।